
सडकको पेटीबाट जुलुस हिँडाउनेबाहेक नयाँ शक्तिको घोषणा कार्यक्रममा अरु पनि केही नयाँ अभ्यास तथा प्रयोग भएको पाइयो । कार्यक्रमको सुरुमा राष्ट्रिय गानको धुनका लागि प्रत्यक्ष वाद्यवादन गराइएको थियो । जबकी अन्य कार्यक्रममा भने पहिले नै रेकर्ड गरिएको गान बजाउने अभ्यास हुँदै आएको थियो ।
नेपालको राजनीतिक इतिहासमा सम्भवतः पहिलोपटक सार्वजनिक रुपमा हजारौँको उपस्थितिमा पार्टी घोषणा गर्दै सपथ खुवाइएको छ । पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले त विश्वभरकै अभ्यासमा यसरी खुल्ला रुपमा सामूहिक तरिकाले पार्टी घोषणा गरिएको आफूलाई अहिलेसम्म थाहा नभएको बताए ।
नेपालमा गरिने अधिकांश कार्यक्रममा वक्ता तथा अतिथि मञ्चमा र दर्शक तथा स्रोता मञ्चभन्दा तल बस्ने व्यवस्था गरिएको हुन्छ । तर नयाँ शक्तिले गरेको कार्यक्रममा भने वक्ता बोल्ने बेलामा मात्रै मञ्चमा जाने व्यवस्था गरिएको थियो । पत्रकारलाई फोटो तथा भिडियो खिच्न पटक पटक मञ्चमा जान दिइएको थियो । फोटो पत्रकार मनिकर कार्कीले आफूले चाहेजस्तो व्यवस्था भएको भन्दै सन्तोष व्यक्त गरे ।
कार्यक्रमस्थलमा चुरोट तथा पानपराग प्रयोगमा पूर्णनिषेध रहेको मञ्चबाट पटकपटक जानकारी गराइएको थियो भने स्वयम्सेवक कालो कोट पाइन्टमा खटिएका थिए । निकै कम मात्रै अभ्यास भइरहेको कार्यक्रमस्थलमा ‘ड्रोन’ क्यामेराबाट दृश्य कैद गर्ने अभ्यास पनि नयाँ शक्तिको कार्यक्रममा भएको पाइयो ।
राष्ट्रियस्तरका पत्रपत्रिकामा पहिलो पृष्ठ पूरै विज्ञापन छापेर पार्टी घोषणासभामा निमन्त्रणा गर्ने पार्टी पनि नयाँ शक्ति नै पहिलो भएको छ । पत्रिकामा विज्ञापन छाप्नुलाई पार्टीका संयोजक भट्टराईले भित्ता फोहोर बनाएरभन्दा सूचना र प्रविधिको प्रयोग गरेर कार्यक्रमको प्रचार गर्नु पर्दछ भन्ने आफूहरुको मान्यता रहेको प्रष्ट्याए ।
घोषणासभामा सहभागीले कार्यक्रमको व्यवस्थापकीय पक्षमा केही नयाँ महसुस गरे पनि शुभकामना दिने विभिन्न पार्टीका नेताले भने राजनीतिक व्यवहार पनि नयाँ र अनुकरणीय हुनुपर्नेमा जोड दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरालगायत विभिन्न पार्टीका नेता र विदेशी पाहुनाले समेत नयाँ शक्तिलाई सकारात्मक नयाँपनका लागि शुभकामना दिए । रासस
source :www.nagariknews.com
Post a Comment