0

भूकम्प प्रभावित जिल्लाका सांसद र जिल्ला सभापतिको मंलबार बसेको बैठकमा अधिकांश सांसद र जिल्ला सभापतिले अहिलेसम्म वास्तविक भूकम्प पीडितले राहत नपाएको, एमालेले भूकम्प पीडितलाईसमेत राजनीतिक विभेद गरेको भन्दै सरकारको चर्को आलोचना गरेको सांसद रामहरि खतिवडाले जानकारी दिए।


व्यवस्थापिका संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको गुनासो आइरहेको बेला कांग्रेसले बुधबार बस्ने व्यवस्थापिका संसद बैठक अबरुद्ध पार्नेसम्मको योजना बनाएको एक नेताले जनाए। मुख्य रुपमा सरकारको नेतृत्व गरेको दल एमालेले पुननिर्माणको नाममा मनलाग्दी गरेको, आफ्ना कार्यकर्तालाई एनजिओमार्फत भर्ती गरेको, वास्तविक भूकम्प पीडितले अहिलेसम्म राहत नपाएको भन्दै व्यवस्थापिका संसद बैठक अबरुद्ध पार्ने संकेत गरेको छ। 'भूकम्प प्रभावित १४ जिल्लामा अहिलेसम्म पीडितले दुई लाख अनुदान पाएका छैनन्,' सांसद खतिवडाले भने,' पीडितलाई पहिलो चरणको अनुदान स्वरुप २ लाख दिनेसमेत भएको छैन। यो विषयमा भोलि बस्ने संसद बैठकमा शसक्त रुपमा आवाज उठाउँछौं। सरकारले चित्त बुझ्दो जवाफ नदिए संसद अबरोध गर्छौं।'



बैठकमा सांसद र जिल्ला सभापतिको कुरा सुनेपछि सभापति शेरबहादुर देउवाले भूकम्प पीडित जनताको स्थिति निकै भयावह भएको उल्लेख गर्दै जनताका समस्या सदनमार्फत सरकारलाई जानकारी गराउने र सरकारले नसुने सशक्त रुपमा प्रस्तुत हुने बताएका थिए। बैठकमा अधिकांश सांसदले सरकारले राजनीतिक आस्थाका आधारमा भूकम्प प्रभावितसँग अनुदान सम्झौता गरेको र सोही कारणले पीडितले यसवर्षपनि घर बनाउन नसकेको गुनासो गरेका थिए। सांसद खतिवडाले पुनर्निर्माण प्राधिकरणले प्रमुख सत्तारुढ नेकपा एमाले समर्थित गैरसरकारी संस्थाहरुमार्फत लगत संकलन गरेको र लगत संकलनमा राजनीतिक पूर्वाग्रह गरिएका कारण कतिपय भूकम्प प्रभावितहरु राहत नै नपाउने अवस्थामा पुगेको बताए । 

Post a Comment

 
Top