0

गृहमा आइतबार बसेको मन्त्रीसहितको बैठकले 'घटना घटाउने व्यक्तिलाई कारबाही र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने' निर्णय गरेको हो। बैठकले सार्वजनिक सम्पत्ति र उद्योगमा राजनीतिक आवरणमा आक्रमणमा संलग्न व्यक्तिदेखि योजना बनाउने र निर्देशन गर्नेसम्मलाई कारबाही गर्न जिल्लास्थित सुरक्षा नेतृत्वलाई आइतबार नै मौखिक निर्देशन दिएको छ। यस्तै देशभरका दुरसञ्चार, विद्युत र अन्य कलकारखानाको सुरक्षा व्यवस्था कडा बनाउनसमेत गृहले भनेको छ।


गृहप्रवक्ता सहसचिव यादवप्रसाद कोइरालाले गृहमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा देशको शान्ति–सुरक्षाका विषयमा छलफल भएको बताए। उनले छलफलमा देशभरका सार्वजनिक सम्पत्तिको सुरक्षा व्यवस्था मजबुत बनाउने र भएका घटनाका दोषीलाई चाँडोभन्दा चाँडो कारबाही दायरामा ल्याउने निर्णय भएको बताए। 'दुईवटा निर्णय भएका छन्, अनुसन्धानले दोषी देखिए जो–कसैलाई कानुनअनुसार कारबाही हुन्छ,' कोइरालाले भने।



चन्द नेतृत्वको नेकपा माओवादीले एनसेल टावर आक्रमणको जिम्मेवारी लिएपछि गृह मन्त्रालयले राजनीतिका नाममा विध्वंसात्मक गतिविधि हुन थालेको निष्कर्ष निकालेको हो। 'यसअघिका घटनामा अलि नरम देखिनुभएका मन्त्री यसपटक भने जसरी पनि कारबाही गर्ने मनस्थितिमा देखिनुभएको छ, हामीले आवश्यक सर्कुलर गरिसकेका छौं,' बैठकमा सहभागी गृहका एक वरिष्ठ अधिकारीले भने।



प्रहरीका अनुसार दाङ र सल्यानमा शुक्रबार र शनिबार एनसेल मोबाइलका ६ वटा टावरमा आगजनी भएको थियो। आगजनीबाट ३ वटा टावरमा क्षति पुगेको छ भने बाँकी ३ वटामा प्रहरीले तत्काल आगो निभाएकाले क्षति हुन पाएन। दाङका चारवटा एनसेल टावरमा आगो लगाईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। शुक्रबार भएको आगजनीबाट लक्ष्मीपुर गाविसको चौपट्टामा रहेको टावर र लमही नगरपालिका–४, श्रीगाउँमा रहेको टावरमा क्षतिग्रस्त भएको छ। यस्तै शनिबार दाङकै धनौरीमा र तुलसीपुर नगरपालिका १० स्थित थप दुईवटा टावरमा विप्लब माओवादीका कार्यकर्ताले आगजनी गरेका थिए। यस्तै शुक्रबार सल्यानको जैतेपानीमा एनसेल टावरमा आगो लगाएका माओवादीले शनिबार राति छायाँक्षेत्रस्थित अर्को टावरमा आक्रमण गरेका थिए।



यसअघि चन्द नेतृत्वको माओवादी कार्यकर्ताले डिसहोम नेपालको भैंसेपाटीस्थित मुख्य प्रसारण केन्द्रमा पुस २ गते बिहान आगजनी गरेका थिए। डिसहोमको सिग्नल कन्ट्रोल र डिस्ट्रिब्युसन च्यानल बक्समा पेट्रोल छर्केर आगो लगाइएको थियो।



डिसहोमका सुरक्षाकर्मी र कामदार फेरबदल हुने बिहानको समयमा १०/१५ जनाको समूह जबर्जस्ती कार्यालयमा पसेर कन्ट्रोल बक्समा आगजनी गरिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ। आगजनीमा मुख्य कन्ट्रोल बक्स जलेको थियो भने त्यससँग जोडिएका अन्य उपकरणसमेत पडि्कएका थिए ।

Post a Comment

 
Top