0

घोषणासभामा भट्टराईले संविधान निर्माणसँगै राजनीतिक क्रान्ति पूरा भएकाले नयाँ पार्टीका तर्फबाट आर्थिक क्रान्तिको नेतृत्व गर्ने उद्घोष पनि गरे। आर्थिक समृद्धिका लागि प्राकृतिक स्रोतसाधन अधिकतम उपयोग गर्ने बताएका भट्टराईले नवगठित पार्टी त्यसको भिजनसहितको वैकल्पिक राजनीतिक शक्ति रहेको प्रस्ट्याए। सामूहिक शपथ खाएर पार्टी घोषणा गरेकोमा गर्व गर्दै भट्टराईले भने, 'यसको जगमा टेकेर विकास, समृद्धिको छानो हाल्नेछौं।'


पृथ्वीनारायण शाह, बिपी कोइरालादेखि माओवादी जनयुद्ध हुँदै पछिल्लो जनआन्दोलन भूगोल निर्माण र राजनीतिक क्रान्तिको युग भएको जनाउँदै भट्टराईले भने, 'पहिलो चरणमा भूगोल निर्माण र दोस्रो चरणमा राजनीतिक अधिकार प्राप्त भयो, अबको चरण आर्थिक विकास र समृद्धिको हो।'

२५ वर्षमै समृद्ध नेपाल : बाबुराम भट्टराई

निर्वाचन आयोगका दलको सूचीमा थपिने मात्र नभएर नयाँ शक्तिलाई जनताका हितमा लगाउने प्रतिबद्धता उनले दर्साए। 'म घरको नक्सा बनाउने मान्छे हुँ तर आफ्नो होइन, अरूको घर बनाउनेछु,' उनले प्रतिज्ञा गरे, 'सबै जनताको घर नभएसम्म मुलुक आर्थिक समृद्धिको तहमा पुग्न सक्दैन।'



दसवर्षे सशस्त्र द्वन्द्वमा थुप्रैको ज्यान गएको बताउँदै भट्टराईले द्वन्द्वकालीन समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। 'हामीले सबै कुरा सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई छोडिदिएका छौं। आयोगले निष्पक्ष छानबिन गरोस्। जुनसुकै निर्णय मान्न हामी तयार छौं,' उनले भने।



सभामा भट्टराईले दुई वर्षभित्र नयाँ शक्तिलाई मुलुकको एक नम्बर दल बनाउने उद्घोष गरे। 'अबको दुई वर्षमा स्थानीय, प्रादेशिक निर्वाचनमा नयाँ शक्ति नेपाल एक नम्बर शक्ति बनेर देशको नेतृत्व गर्नेछ,' उनले भने।



नयाँ शक्तिको राजनीतिक विचारधारा के हुन्छ भन्ने प्रश्न निरन्तर सामना गरिरहेको खुलाउँदै भट्टराईले समृद्ध नेपालका लागि व्यापक छलफल गर्न तयार रहेको बताए। 'संसारको कुनै पनि तागतले नयाँ विचार रोक्न सक्दैन, हामी परम्परागत बाटोमा छैनौं,' उनले भने, 'अब नेपाल भारत र चीन 'दुई ढुंंगाबीचको तरुल' नभई दुई ठूला समु›बीचको गतिशील पुल बन्नुपर्छ।'



विकासका लागि आवश्यक भिजन आफूसँग भएको दाबी गर्दै भट्टराईले भने, 'हामीसँग युवाशक्ति छ, तिनलाई देशभित्रै रोजगारी दिन सके विकास हुनेछ।' विकास मोडल छिट्टै सार्वजनिक गर्ने बताउँदै उनले थपे, 'विकासको शास्त्रीय मोडलमा टाँसिएर बस्दैनौं, नयाँ खाका ल्याउनेछौं।' संविधानमा अझै केही अपूर्ण रहेको बताउँदै भट्टराईले पूर्ण समानुपातिक व्यवस्थापिका र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपति हुनुपर्नेमा जोड दिए।



सभामा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले 'नयाँ शक्तिले एमालेबाहेक अरूलाई धक्का देला' भनी दिएको अभिव्यक्तितर्फ संकेत गर्दै भट्टराईले भने, 'हामी एजेन्डाले नेतृत्व गर्छौं, कसैको भाग खोस्नेवाला छैनौं। कुखुराझैं भुइँ खोस्रँदैनौं, चीलझैं उड्छौं।'



'राजनीतिक स्थिरता आवश्यक'



घोषणासभामा निम्त्याइएका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले पनि मुलुकमा राजनीतिक क्रान्ति पूरा भएकाले आर्थिक क्रान्तिमा लाग्न जोड दिए। असन्तुष्ट राजनीतिक दल र समुदायलाई मूलधारमा ल्याएर संविधान कार्यान्वयन गर्दै आर्थिक विकासमा लाग्नुपर्ने उनीहरूले बताए।



राजनीतिक स्थिरताबिना आर्थिक विकास सम्भव नहुने औंल्याउँदै नेताहरूले शान्ति र स्थिरता कायम राख्दै आर्थिक विकासलाई मूल एजेन्डा बनाउन नयाँ शक्तिलाई सुझाव र शुभकामना दिएका थिए।



प्रधानमन्त्रीले ओलीले राष्ट्रिय स्वाभिमान, आर्थिक उन्नतिको कर्मठ प्रतिनिधि बन्न नयाँ शक्तिलाई सुझाव दिए। 'देशमा राजनीतिक पार्टी धेरै छन्, निर्वाचन आयोगमा थप एउटा पार्टी थपिने काम मात्र नहोस्,' उनले भने, 'देशलाई सकारात्मक दिशामा अगाडि बढाउन सकोस्।'



आफूले नेतृत्व गरेको एमालेबाहेक सबै राजनीतिक दललाई नयाँ शक्तिले धक्का दिने टिप्पणी गर्दै ओलीले नीति तथा कार्यक्रममार्फत सरकारले देशविकासको संकल्प लिएको पनि उल्लेख गरे। नयाँ संविधान उत्कृष्ट र लोकतान्त्रिक विधिबाट निर्माण भएको दोहोर्याकएका ओलीले कुनै पनि भूगोल, जाति, भाषा र संस्कृतिका जनताप्रति विभेदको नीति नरहेको प्रस्ट्याए। 'तर, कतै अभाव छ भने संविधान सच्याउन सकिन्छ,' उनले भने, 'यही संविधानमा टेकेर समस्या समाधान गर्न सकिन्छ।'



कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विकास र समृद्धिको आवश्यकता औंल्याउँदै नयाँ शक्तिको नारा सान्दर्भिक रहेको भन्दै प्रशंसा गरे। 'संविधान निर्माणपछि आर्थिक विकास आवश्यक छ, देशमा लगानीकर्तालाई सुरक्षा दिन सक्ने वातावरण बनाउनुपर्छ,' उनले भने।



नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले मुलुक अहिले विकल्प खोजीमा रहेको बताए। विगतमा आएका वैकल्पिक पार्टी सफल हुन नसकेको टिप्पणी गर्दै उनले भने, 'विगतमा जस्तै निराशा नभई आशामा बदलिनुपर्छ, नयाँ शक्ति राजनीतिक स्थिरतालाई सन्तुलनमा राख्दै आर्थिक विकासमा लाग्न सक्नुपर्छ।'



राप्रपाका सुनीलबहादुर थापाले आर्थिक विकासलाई मूल एजेन्डा बनाएर फराकिलो बाटोमा हिँडेको भन्दै नयाँ पार्टीलाई शुभकामना दिए। नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले नयाँ शक्तिको प्रशंसा गर्दै भने, 'नदीमा डुब्न लागेको व्यक्तिलाई परालको त्यान्द्रो भए पनि समाउनुपर्छ।'



राप्रपा नेपालका सुनील श्रेष्ठ, परशुराम तामाङ, होटल व्यवसायी संघका योगेन्द्र शाक्य, नेपाली कांग्रेसका नेता प्रदीप गिरी, महिलाअधिकारकर्मी दुर्गा सोव, संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ, सुरेन्द्र चौधरीलगायतले पनि नयाँ शक्तिलाई शुभकामना दिए।



सभामा भारतका जनता दल युनाइटेडका महासचिव केसी त्यागी, राष्ट्रिय कांग्रेसका महासचिव डिपी त्रिपाठी, विभिन्न देशका राजदूत, राजनीतिक पार्टीका प्रतिनिधि उपस्थित थिए।



सामूहिक शपथ



गत असोजमा तत्कालीन एकीकृत माओवादीबाट अलग्एिका भट्टराईले 'अबको निकास, आर्थिक विकास' लाई पार्टीको मूल नारा बनाएका छन्। पार्टीले सुशासन–सदाचार, समतामूलक समृद्धि, स्वाधीनता–सार्वभौमिकता, समानुपातिक–समावेशी सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवादलाई जोड दिएको छ। कार्यक्रममा पार्टीको प्रतिबद्धता ५ 'स' लेखिएका बेलुन उडाउँदै राष्ट्रगान धुन बजाइएको थियो।



कार्यक्रममा संयोजक भट्टराईले सबै अभियन्तालाई पार्टी सदस्यका रूपमा सामूहिक शपथ गराए। नयाँ शक्तिसँग आबद्ध पार्टी कार्यकर्ताले जीवनभर सुशासन, सदाचार, मानवीय मूल्य र गरिमामा लाग्ने, बोलेको कुरा व्यवहारमा उतार्दै सकारात्मक सोच राख्नुपर्ने शपथ खुवाइएको थियो। भट्टराईले शपथ ग्रहणक्रममा 'आफ्नै जीवनकालमा समृद्ध नेपाल सम्भव छ' उच्चारण गर्दै उपस्थित कार्यकर्ता तथा सर्वसाधारणलाई दोहोर्यामउन लगाए।



कार्यक्रममा अतिथिहरूलाई मञ्चमा नभएर दर्शकदीर्घाको अग्रपंक्तिमा आसन ग्रहण गराइएको थियो। घोषणासभामा गायक रामकृष्ण ढकालले 'देश बने पो हामी बन्छौं, एक्लै बनेर के अर्थ हुन्छ र? देशै मासियो भने हामी झाँगिएर के अर्थ हुन्छ र?' गीत गाए। बीचबीचमा तेक्वान्दो, कराते लगायत खेल, राष्ट्रिय गीत, झाँकी प्रस्तुत गरिएको थियो।



बन्दसत्र भोलिदेखि



कार्यक्रमका स्वरूप अन्य पार्टीकै जस्तो भए पनि नयाँ शक्तिले केही शब्द परिवर्तन गरेको छ। बन्दसत्रलाई छलफलसत्र भनेको उसले सोमबार र मंगलबार प्रज्ञाभवनमा उक्त कार्यक्रम गर्नेछ। छलफलसत्रमा 'नयाँ शक्तिका आधारतत्व', 'विकास र समृद्धिको मार्ग–चित्र,' राजनीतिक प्रतिवेदन, संगठनात्मक सिद्धान्त र विधान गरी तीन दस्तावेज प्रस्तुत हुँदै छन्। प्रतिनिधिलाई दस समूहमा प्रतिनिधि विभाजन गरी छलफल हुने बताइएको छ। तीनदिने कार्यक्रममा १ करोड ५ लाख रुपियाँ खर्चने आँकलन छ।

Post a Comment

 
Top