0
काठमाडौं— डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता जनाउने भएका छन्। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पार्टी घोषणा सभामा प्रधानमन्त्री जाने निश्चित भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रमोद दाहालले उल्लेख गरेका छन्।प्रधानमन्त्री ३ बजे नयाँ शक्तिको कार्यक्रममा सहभागिता जनाउनु हुनेछ', प्रेस संयोजक दाहालले भने।

दशरथ रङ्गशालामा मध्याह्न हुने नयाँ शक्ति नेपालको उद्‌घाटन अघि राजधानीका चार स्थानबाट र्या ली निस्किएका छन्। कालीमाटी, रत्नपार्क, बबरमहल र कुपण्डोलबाट सुरु भएको पदयात्रा दशरथ रङ्गशालामा प्रवेश गरी सभामा परिणत हुँदैछन्। पदयात्रालाई सवारीसाधनलाई अवरोध नगर्ने गरी व्यवस्था मिलाइएको नयाँ शक्ति निकटको नेपाल प्रेस सोसाइटीका केन्द्रीय संयोजक रुद्र भट्टले बताए।

पदयात्रामा सहभागीले ढाडमा 'तपार्इंलाई असुविधा भएकामा क्षमाप्रार्थी छौँ' भन्ने सन्देश राखेर प्रदर्शन गरेका छन्। केन्द्रीय सचिवालय सदस्य क्रमशः कालीमाटीमा वामदेव क्षेत्री, रत्नपार्कमा पासाङ शेर्पा, बबरमहलमा महेन्द्र पासवान र कुपण्डोलमा हिसिला यमीले पदयात्राको नेतृत्व गरिरहेका छन्। पदयात्राका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ नहोस् भनी पैदलमार्गको बाटाबाट हिँडिएको पार्टी प्रवक्ता खिमलाल देवकोटाले बताए।

उद्‌घाटन कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेता तथा व्यवस्थापिका –संसद्का सबै सांसदलाई निम्ता गरिएको छ।

उदघाटनपछि सोमबार र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा छलफल सत्र गरिने र त्यसले पार्टीको नीति तथा कार्यक्रम र थप पदाधिकारीको टुङ्गो लगाउने प्रवक्ता देवकोटाले बताए।

पार्टी घोषणका लागि नेता देवेन्द्र पौडेलको नेतृत्वमा मूल व्यवस्थापन समिति र १४ उपसमिति गठन गरिएको छ। घोषणा समारोहमा ७५ जिल्लाका प्रतिनिधिले सहभागिता जनाउने र विदेशबाट समेत प्रतिनिधि आउने बताइएको छ।

घोषणासभामा नेपालस्थित २५ देशका राजदूतलाई समेत निम्तो गरिएको पार्टीले जनाएको छ। शुभकामना दिन भारतीय नेता केसी त्यागी, डिपी त्रिपाठी, वामपन्थी पत्रकार आनन्दस्वरुप बर्मा लगायत काठमाडौँ आइपुगेको प्रवक्ता देवकोटाले जानकारी दिए। एक लाखभन्दा बढी संस्थापक सदस्यलाई आज एकैपटक सामूहिक सपथग्रहण गराइने बताइएको छ।
source : www.nagariknews.com

Post a Comment

 
Top