झन्डै दुई वर्षअघि पाँचवटा समुहबीच एकता भएर बनेको संघीय लिम्बुवान पार्टी फुटको संघारमा पुगेको छ । २०७१ साउन १९ गते कुमार लिङ्देन नेतृत्वमा गठन भएको संघीय लिम्बुवान पार्टी फुटको संघारमा पुगेको हो। यो संघीय लिम्बुवान पार्टी सन्जुहाङ् पालुङ्वा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद, कुमार लिङ्देनको मञ्च सम्बद्ध संघीय लिम्वुवान राज्य परिषद, वीर नेम्वाङ्को लिम्बुवान मुक्ति मोर्चा, रामभक्त कुरुवाङ्वा नेतृत्वको समूह र कमल छाराहाङ्को संघीय गणतान्त्रिक पार्टी संघीय लिम्बुवान राज्य परिषद मिलेर बनेको थियो ।
पार्टी अध्यक्ष कुमार लिङदेनले एक वर्षअघिदेखि बैठकसमेत बसाउन नसकेपछि शनिबार मात्र सन्जुहाङ् पालुङ्वा र कमल छाराहाङ् समूहले अलगै बैठक डाकेर छुटै ढंगले अघि बढने निर्णय गरेका छन्। यो समूहले सोमबार (आज) पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गर्ने भएको छ। सन्जुहाङ् र कमल पक्षधर नेता प्रेमदिप थाङ्सुहाङ्ले अध्यक्षसँगको असन्तुष्टिकै कारण पार्टी फुटको संघारमा पुगेको बताए।
कुमारसँग असन्तुष्टै भएपनि नेताहरु वीर नेम्वाङ, रामभक्त कुरुवाङ् र खगेन्द्र बोखिम भने भेलामा उपस्थित भएनन्। 'हामी तीन जना भने एकता भएर लिम्बुवान प्राप्तिका निम्ति अघि बढनुपर्छ भन्नेमा पक्षमा छौं,' बोखिमले भने, 'अध्यक्ष कुमार लिङदेनपनि एकलौटी ढंगले अघि बढनुभयो । अब सन्जुहाङ पालुङ्वा र कमल छाराहाङ्ले पनि त्यही बाटो रोज्नुभयो ।'
अहिले आधिकारिक रुपमा कुमार लिङदेन संघीय लिम्बुवान पार्टीकै अध्यक्ष हुन् । तर, उनको आफ्नो छुट्टै पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई सक्रिय बनाएर निर्वाचन आयोगमा नवीकरण गरेका छन् । राजधानीमा भइरहेको रिले अनशनमा भने उनी संघीय लिम्बुवान पार्टीकै नाममा सहभागी छन् ।
सवैभन्दा बढी २०६२ पछि लिम्बुवान पार्टी खुल्दा संघीय लिम्बुवान राज्य परिषद कुमार लिङदेन र सन्जुहाङ् पालुङ्वा मिलेर बनाएका थिए । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा कुमारले चुनाबमा भाग लिए र सन्जुहाङ्ले बहिस्कार गरेकाले त्यती बेलादेखि नै फुट सुरु भएको थियो।
लिम्बुवान पार्टी टुटफुड र अरु पार्टीमा मिसिने श्रृख्लाकै क्रममा शनिबार लिम्बुवान मुक्ति मोर्चा नेपाल संघीय समाजवादी फोरम नेपालमा मिसिएको छ। अध्यक्ष पदम अधिकारीसहित १९ जनाको केन्द्रीय कार्यसमिति फोरम नेपालमा मिसिएको हो । अधिकारीका अनुसार तल्लो तहसम्म संगठन बिस्तार नभइकन लिम्वुवान मुक्ति मोर्चाको केन्द्रीय समिति मात्र रहेको थियो ।
अधिकारी यसअघि २०६५ सालताका सन्जुङ पालुङ्वाले नेतृत्व गरेको संघीय लिम्बुवान राज्य परिषदका महासचिव थिए। त्यहाँ विद्रोह गरेर रामभक्त कुरुवाङ्लाई संयोजक बनाएर र अधिकारी महासचिव रहेर ंसंघीय लिम्बुवान राज्य परिषद एकता संयोजन समिति बन्यो । चार वर्षअघि संघीय लिम्बुवान राज्य परिषद एकताको संयोजन समिति र वीर नेम्वाङ्को लिम्बुवान मुक्ति मोर्चा एकीकरण हुन पुग्यो। त्यसको नेतृत्व बीर नेम्वाङ्ले गरे । अन्ततः अध्यक्ष नेम्वाङ्ले एकलौटी रुपमा लिम्बुवान मुक्ति मोर्चा पार्टी निर्वाचन आयोगमा दर्ता गरेको भन्दै रामभक्त कुरुम्वाङ् कार्यबाहक अध्यक्ष रहेको लिम्बुवान मुक्ति मोर्चा नेपाल पनि निर्वाचन आयोगमा दर्ता भएको थियो ।
लिम्बुवानका नेता बीर नेम्वाङले ०३५ सालमा पाँचथरको पाम्वोङ् भन्ने स्थानमा लिम्बु भाषाको स्कुल खोलेर भाषिक आन्दोलन शुरु गरेका थिए । आन्दोलन गर्दा उनी जेल समेत परे । झन्डै दुई बर्षपछि उनलाई आम माफी दिइयो । उनले ०४३ सालमा लिम्बुवान मुक्ति मोर्चा गठन गरेका थिए।
फुट समूह बढने क्रममा लिङदेनसँगै ०६७ सालमा राजकुमार नालवो पनि अलगिए भने महासचिव सूर्य माखिमको नेतृत्वमा पार्टी विभाजन भयो । अलग भएका तीन नेता पुनः सन्जुहाङ् समूहमा मिसिए । तर, ०६९ को अन्तिमतिर मिसेक र राजकुमार सन्जुहाङ्लाई छाडेर संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी गठन गरेका थिए ।
पूर्वमा ०६३ सालपछि चन्द्रबहादुर योङहाङको नेतृत्वमा पल्लो किरात राष्ट्रिय मञ्च गठन गरेर गतिविधी सञ्चालन गदैं आएका छन् । योङहाङ् पञ्चायतबाट जनमुक्ति नेपाल हुदैं लिम्बुवान आन्दोलनमा सक्रिय छन् ।
लिम्बुवान राज्य प्राप्तिका लागि पछिल्लो समय देउमान लिम्बुको हाराहाङ् समूहले सशस्त्र गतिविधी सञ्चालन गदैं आएको छ। देउमान शुरुमा संघीय लिम्बुवान राज्य परिषदका सामान्य लिम्बुवान भोलेटियर्स थिए ।
लिम्वुवानको सुनिश्चितका लागि पहिलो पुस्ताका नेताले २००४ देखि २०१७ सालसम्म आन्दोलन गरेका थिए ।
source : www.nagariknews.com
Post a Comment